मुल संरचनाका रुपमा संघ, प्रदेश र स्थानीय तहले शासन संचालन गर्ने संवैधानिक व्यवस्था बमोजिम
स्थानीय तह अन्तरगत गाउँपालिका र नगरपालिकाले स्थानीय सरकारका रुपमा शासन सञ्चालन
गर्दछ । संघीय शासन व्यवस्थाको मर्म अनुसार तीनवटै तहले सहकारिता, समन्वय र सहअस्तित्वको
सिद्धान्तका आधारमा शासन सञ्चालन हुने कुराको परिकल्पना गरिएको छ । लोकतन्त्रका लाभहरूको
समानुपातिक समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप
समाजवादउन्मुख संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण
गर्न संघीय कानुनका रुपमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भइसकेको छ । यस ऐनले
स्थानीय तहमा विधायकी, कार्यकारणी र न्यायीक अभ्यासलाई संस्थागत गर्न र स्थानीय शासनमा
सहभागिता, जवाफदेहिता, पारदर्शिता सुनिश्चित गरी सुलभ सेवा प्रवाह गर्ने अपेक्षा गरेको छ ।
स्थानीय सेवा व्यवस्थापनमा प्रभावकारितासँगै विकास प्रक्रियालाई द्रुततर तुल्याई जनअपेक्षाको
सम्बोधन गर्ने ऐतिहासिक जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ ।
संवैधानिक रुपमा प्राप्त जिम्मेवारीलाई जनताको सबैभन्दा नजिकको सरकारको रुपमा पूरा गर्न
स्थानीय सरकारहरु अग्रसररहेको छन्। जनताकोशान्ती, विकास र समृद्धिको चाहना पूरा गर्ने दायित्व
प्रमुख रुपमा स्थानीय सरकारमा रहेको छ । जनताले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरितो र
प्रभावकारी बनाई महसुस हुने गरी विकासको प्रतिफल सबैले प्राप्त गर्ने दिशामा केन्द्रित हुनु जरुरी छ
। दिगो विकास लक्ष्य र संघीय तथा प्रादेशिक योजनाले परिलक्ष्यित गरेका सवालहरूलाई अनुकुल हुने
गरी स्थानीय सरकारको प्राथमिकतामा हुनु आवश्यक छ । नयाँ परिवेश र नवस्थापित संरचनाले
आर्थिक स्रोत तथा जनशक्तिको सीमितताका बाबजुद सुशासन र विकासको आकांक्षालाई सम्बोधन गर्ने
अपेक्षा गरिएको छ । वस्तुस्थिती विवरणले गाउँ/नगरपालिकाको वर्तमान अवस्था, सम्भावना र
आवश्यकताको विश्लेषण गर्न आवश्यक सूचना उपलब्ध गराउन महत्वपूर्ण हुने देखिन्छ ।
नेपालको संविधान, नेपाल स्थानीय सरकार सञ्चालन ऐन २०७४, स्थानीय तहको वार्षिक बजेट तथा
योजना दिग्दर्शन २०७४ र गाउँ/नगर डिजिटल प्रोफाइल तयारी कार्यविधि २०७५ ले नगर क्षेत्रको
समग्र वस्तुस्थिति झल्किने वस्तुस्थिती विवरण तयारीलाई स्थानीय सरकारको अनिवार्य दाइत्वका रुपमा
प्रस्टाएको छ । गाउँक्षेत्रको डिजिटल प्रोफाइलले खण्डिकृत र क्षेत्रगत तथ्याङ्क सहितको एकीकृत सूचना
प्रस्तुत गर्दछ । संघीय सरकारले हालै सबै स्थानीय तहमा एकरुपमा र स्तरीयता कायम हुने गरी
प्राकृतिक, साँस्कृतिक, आर्थिक, सामाजिक र पूर्वाधार जस्ता क्षेत्र समेटिएको डिजिटल प्रोफाइल तयारी
गर्न गाउँ/नगर वस्तुस्थिती विवरण तयारी कार्यविधि २०७५ तयार गरी उपलब्ध गराइ सकेको छ ।
प्रतापपुर गाउँपालिकाको नेतृत्वमा तयार हुने वस्तुस्थिती विवरणले कार्य सम्पादन, सेवा प्रवाह,
आन्तरिक राजश्व असुली तथा योजना तर्जुमाका लागि सूचनाको आधार तयार गर्न महत्वपूर्ण हुनेछ ।
संघीय सरकारले उपलब्ध गराएको कार्यविधि, सरोकारवालासँगको परामर्श, विगतका सफल अभ्यास र
विज्ञहरूका सुझावहरूलाई समेत समावेश गरी तयार गरिएको यस वस्तुस्थिती विवरणले गाउँपालिकाका समग्र
गतिविधीलाई अझै बढी प्रभावकारी गराउन सहयोगी हुनेछ ।